प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रियसभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन् ।

हारेका तीनै जनालाई राष्ट्रियसभामा मनोनीत गर्न लागेको भन्दै कांग्रेसभित्र देउवाको आलोचना पनि सुरु भएको छ । सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ मा सकिएलगत्तै सरकारले बाँकी तीन स्थानमा मनोनयनको सिफारिस गर्नेछ । राष्ट्रियसभामा एक महिलासहित तीन जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस नेतृत्वको सरकारले मनोनीत गर्ने तीन जनाबारे अहिले चर्चा हुन थालेको छ । देउवाले पौडेल, निधि र पत्नीलाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ । सकेसम्म हारेकालाई राष्ट्रियसभामा नलाने, लानै परेमा पौडेल, निधि र आरजुमध्येबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ ।

‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रियसभामा लगिँदैन’, देउवानिकट एक कांग्रेस नेताले भने– ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु ९पौडेल र निधि र आरुजु० नै पर्न सक्नुहुन्छ ।’ देउवाले आरजुसहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका छन् ।

तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल, आरजु र निधिलाई राष्ट्रियसभामा मनोनयन गर्ने कुरा हल्ला मात्रै भएको बताए । पार्टीमा त्यस विषयमा चर्चा नभएको दाबी उनले गरे । राष्ट्रियसभामा ५६ जनाको निर्वाचनका सबै प्रक्रिया सकिएपछि मनोनीतका विषयमा छलफल हुने उनले बताए ।

‘यो सरकारले गर्ने काम हो, पार्टीभित्र यस विषयमा छलफल भएको छैन, अरु चुनाव सकिएपछि यो विषयले प्रवेश पाउँछ’– शर्माले भने । प्रवक्ता शर्माले राष्ट्रियसभाका तीन जनाको मनोनयन भने देउवा सरकारले नै गर्ने बताए । ‘राष्ट्रियसभाका ५६ जनाको निर्वाचन यो सरकारले गर्ने, तर बाँकी तीन जनालाई अर्को सरकारले मनोनयन गर्ने भन्ने हुँदैन,’ उनले भने– ‘यही सरकारले सम्पूर्ण निर्वाचन पूरा गर्छ र गर्नुपर्छ ।’

जनताले तिरस्कार गरेकालार्इ चोर बाटोबाट उपल्लो सदनमा लान देउवाले गरिरहेको प्रयासबारेको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here