बाबुकाजी कार्की

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनपछि उच्च शिक्षा अध्ययनका लागि कुुुन विषय, कहाँ, किन, कसरी, कहिले पढ्नेबारे विद्यार्थी र अभिभावकबीच खुल्दुली हुनु स्वाभाविकै हो । विद्यालय शिक्षाको महŒवपूर्ण खुड्किलोका रूपमा लिइने यस परीक्षा उत्तीर्ण भएपछि अध्ययन गरिने विषयले भविष्यको बाटो तय हुन्छ । गत वर्षदेखि प्रयोगमा आएको ग्रेडिङ प्रणालीबारेमा पर्याप्त जानकारी नहँुदानहँुदै यस वर्षदेखि एसएलसीको नामकरण एसईई गरिएकाले अभिभावक तथा विद्यार्थीका लागि भावी अध्ययनका निमित्त थप अन्योल थपेको छ । अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘वल्लो घाट न पल्लो तिर’ भएर हण्डर खाएका धेरै उदाहरणहरू छन् । त्यसकारण एसएलसी पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकार पक्षले कञ्जुस्याइँ गर्नुहुँदैन । श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौतीहरू थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार अध्ययन विषयको छनोट होस पु¥याएर गरिनुपर्छ । तसर्थ कुन विषय किन र कहाँ पढ्ने ? अभिभावक र अनुभवीको सल्लाह र सुझाव मार्गदर्शन हुन सक्छ । विद्यार्थीको चाहनाअनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकहरूको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । गुणस्तरीय पठनपाठन तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? यस्ता प्रश्नहरूको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीचको सहकार्यबाट गम्भीरतापूर्वक समयमै दूरदर्शी निष्कर्षमा पुग्न सरकार र सरोकार पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न चुक्नुहुँदैन ।

विद्यार्थी आफैंलाई मात्र आप्mनो खुबी थाहा हुन्छ । त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाका लागि विषय छान्ने निर्णय गर्नुपर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हासिल गर्नुपर्छ । तसर्थ पढ्ने विषय रोज्दा आफ्नो रुचि क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता र पारदर्शिता समेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नुपर्छ । भविष्यमा अपनाउने पेसा, त्यसका लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका बारेमा यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी कदम हुन्छ ।

अभिभावकले विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लगाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्यासम्मका अप्रिय घटना हुने गरेको पाइन्छ । त्यसकारण छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिहरूको आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनुपर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होऊन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धि, पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ । त्यस्तै एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातलसमेतको अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनोट गरेको खण्डमा पछि पछुताउनुपर्दैन ।

कुनै पनि विषय सानो हु“दैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हासिल गर्नुपर्छ । तसर्थ पढ्ने विषय रोज्दा आफ्नो रुचि, क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ ।

शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाले पनि आफ्नो साधनस्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शी रूपमा नढाँटी इमानदारीपूर्वक जानकारी गराउनुपर्छ । किनकि मानवीय संशाधन विकास गर्ने अभिभारा लिएकाले यदि त्यसमा हेलचेक्य्राइँ भएमा व्यक्ति समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यसकारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभका लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयंका लागि आत्मघाती कदम नहोला भन्न सकिन्न । अतः प्रचलित नीति नियमलाई इमानदारीपूर्वक अनुसरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छ । सार्थक दूरदर्शी सोच राखेर मात्रै अनुशासित वातावरणमा शिक्षण संस्था सञ्चालन गर्नुपर्छ । भनिन्छ, बाली लगाउन कम्तीमा ६ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ । देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन अनुसन्धानपछि मात्र शिक्षण संस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा फलदायी हुन्छ । संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट संस्था निर्देशित हुनुपर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षणिक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति नियम अपरिहार्य हुन्छ ।

गरिब जेहेनदार विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था राज्य तथा शिक्षण संस्थाले गर्नका साथै अन्य सरकारी गैरसरकारी र राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न निकायहरूबाट प्रदान गरिने छात्रवृत्ति बारेको यथार्थ जानकारी सहज रूपमा सबैलाई उपलब्ध हुने व्यवस्था गरिनुपर्छ । सञ्चालित उच्च माविहरूको संख्यात्मक तथा गुणात्मक अवस्थाको अनुगमन निरीक्षणलाई सशक्त बनाउनुपर्ने देखिन्छ । तोकिएका सेवा सर्तअनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन अपरिहार्य हुन्छ । शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । विद्यालयलाई विद्यार्थीको उपलब्धिप्रति जवाफदेही बनाउन राज्य र स्वयं सेवाग्राही चनाखो हुनुपर्छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here