काठमाडौं-छायांकनको तयारीमा रहेको फिल्म ‘गोपी’मा नायिका वर्षा सिवाकोटी पनि प्रवेश भएकी छिन्। निर्माण घोषणामा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्त फिल्ममा मूख्य भूमिकामा रहने बताइएको थियो। अब भने यस फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले दुई नायिकासँग रोमान्स गर्नछन्।

‘गोपी’मा नायिका वर्षा सिवाकोटीलाई सुहाउने रोल भएका कारण उनलाई फिल्ममा अनुबन्धित गरेको निर्देशक दिपेन्द्र लामाले बताए। उनले भने, ‘फिल्ममा सुहाउदो क्यारेक्टर भएका कारण उनलाई फिल्ममा लिइएको हो।’ फिल्ममा दुई हिरोइन भएपनि यो त्रिकोणात्मक प्रेमकथा नभएको उनले बताए। खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् भने वर्षा र सुरक्षाले पनि ‘भैरे’मा सँगै काम गरेका छन्। आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न पाउँदा खुसी लागेको खगेन्द्रको भनाई छ।

‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला नै काम गरिसकेको छु। काम पनि राम्रो भएको थियो’, खगेन्द्र भन्छन्, ‘यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु।’ वर्षाको आगमनले फिल्ममा ग्ल्यामर थपिएको सुरक्षाको तर्क छ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा आरोही केसीको लगानी रहेको छ। फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ। भदौ १ गतेबाट छायाँकनमा जाने फिल्मलाई शैलेन्द्र डि कार्कीले खिच्नेछन् भने निमेष श्रेष्ठले सम्पादनको जिम्मा लिएका छन्। फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने तयारी रहेको कार्यकारी निर्माता श्रीधरले बताए।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here