ममिता थामी

जीवन भनेको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो ।

कतिपय मानिसले जीवनलाई एउटा संघर्षको पाटोको रुपमा मानेका छन् भने कतिपयले जीवनलाई एउटा मोजमस्तीको रुपमा लिएका छन् । वास्तवमा भन्ने हो भने जीवन भनेको आ-आफ्नो तरिकाले जीवन यापन गर्नमा भर पर्छ । कतिको जीवन सुख अनि खुसी हुन्छ भने कतिको दु:ख अनि पिडा हुन्छ । मलाई लाग्छ जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुलहरु फुलीरहँदा त्यसको सुगन्ध मिठो हुन्छ । त्यस्तैगरी जीवनको पनि त्यतिकै महत्व हुन्छ ।

जसरी फुलहरु फुलिरहदा फुलको सुवास आउनुका साथै पातहरु पनि हरियाली देखिन्छ । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । मानिसको जीवन पनि त्यस्तै हो । जसको जीवन सुख साथ बितेको छ । उनीहरु सानैदेखि नै मिहिनेती, लगनशीलताका साथ अघि बढेका हुन्छन् । भनिन्छ नि परिश्रमको फल मिठो हुन्छ भनेर हो त्यसरी नै उनीहरुले एक दिन अवस्य पनि सफलता प्राप्त गर्दछन् ।

जीवन भनेको यही हो । एउटा दु:ख सुखको चौतारी जस्तै, जसरी फुल फुली रहेको बेलामा फूललाई हावा हुण्डरीले हल्लाउने गर्दछ र कुनै समयमा त्यो फुल हावाकै कारणले पनि झर्न सक्छ । जीवन पनि त्यस्तै हो । कति बेला कहाँ गएर ठेस लाग्छ पत्तो हुन्न । भनिन्छ नि मानिस जन्मिए पछि अवस्य एकदिन मर्नैपर्छ एकदिन सबैले संसार छोड्नैपर्छ । प्रकृतिको नियम नै हो चाहे छिटो होस् या ढिलो ।

जब मानिस यो धर्तीमा जन्मिन्छ तब देखि जीवनको यात्रा शुरु हुन्छ । जसरी आमाले आफ्नो छोराछोरीलाई लाखौ समस्या झेल्दै हुर्काएकी हुन्छिन् त्यसरीनै मानिसले पनि आफ्नो जीवनमा लाखौ समस्याहरु पार गर्दैं जीवन गुजारीरहेको हुन्छ । मानिसले जीवन पनि विभिन्न तरिकाले गुजारी रहेका हुन्छन् ।

कसैको जीवन सुखमय हुन्छ भने कसैको दुस्खमय हुन्छ । कति मानिसहरुले रातदिन पसिना बगाएर पनि बिहान बेलुका छाक टार्नलाई धौंधौं हुन्छ भने कसैले कुनै दुख नगरी पनि जीवन यापन गरिरहेका हुन्छन् । वास्तविक यो हो कि जसले जसरी जीवनयापन गरिरहेको हुन्छ । आ(आफ्नो लागि त्यहि उचित भएको हुन्छ ।

जीवनमा जो कसैले पनि सपना देखेको हुन्छ । यो गर्ने, त्यो गर्ने, यो बन्ने जस्ता सपनाहरु देखेका हुन्छन् तर कतिको सपना पुरा हुन्छ भने कतिको सपना अधुरो नै रहन्छ । भनिन्छ, सपना नदेख्ने मानिसले कुनै लक्ष्य चुम्न सक्दैन तर पनि कतिले देख्दादेख्दै पनि पुरा गर्न सकिरहेको छैन ।

जीवनमा यस्ता कति कुराहरु हुन्छन् । जुन गर्न चाँहादा चाँहादै पनि पुरा गर्न सकिरहेको हुदैन । मानिसको जीवनमा अनेकौं खालका समस्याहरु देखा परिरहेको हुन्छन् । कतिले जीवन मृत्यु सँग लडिरहेका हुन्छन् । कतिले चाहेर पनि यो संसार देख्न पाइरहेका छैनन् भने कतिले सबै कुरावाट पूर्ण भएपनि जिउने ठाउँ पाइरहेका हुदैनन् ।

जस्तैः सडकको पेटीमा जीवन जिउनेहरूलाई हेर्ने हो भने धेरै बालबालिकाहरु सडकको पेटीमा छटपटाएर जीवन जिउन बाध्य भएका छन् । कतिले खान, लाउन, सुत्न ठाउँ पाइरहेका छैनन् । त्यही सडक नै उनीहरुको लागि बास स्थान भएको छ । सडकको पेटिमा छटपटाइरहदा समेत हाम्रो सरकारले कुनै ध्यान दिएको देखिदैन । त्यसैले उनीहरुको जीवन पनि जीवन नै त हो । उनीहरुले पनि सडकमा सुतेर सडकलाई नै आफ्नो बास स्थान बनाएर जीवनयापन गरिरहेका छन् ।  त्यसैले जीवन भनको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here