-राम कुमारी झाक्री

२०५० सालको मंसिर ८ गते
मेरो स्मृतिमा आज पनि ताजै छ। मेरो स्कुलको वार्षिक परिक्षा मंसिर छ गतेबाट सुरू भएको थियो । परिक्षाको समय भएकोले घरको काम गर्न त्यो बेला पर्दैन्थ्यो । स्कुल अलि टाढा भएकोले सधै हतार हुन्थ्यो । परिक्षाले त झन तनाव हुने नै भयो ।

त्यो बिहान अर्थात मंसिर ८ गतेको बिहान ।
स्कुल जान तयारी गर्दै थिएँ, हात, गोडा, मुख धुन र एक गाग्रो पानी लिन घर नजिकै पघेरोमा गएँ । हुन त खाने पानीको धारा घरमै आउथ्यो । तर घरमा भन्दा गोठमा पानी धेरै चाहिने भएकोले, हिउँद महिनामा बारीमा हिउँदे गोठ बनाएर गाईबस्तु सार्ने हुदा, धारो परैबाट गोठ बनाएको बारीतिर लाने भएकोले खाने पानी नजिकैको पधेरोबाट बोक्थ्यौं ।
मैले त्यो बेला सबै भन्दा धेरै समय पानीको धारा वा पँधेरोमा बिताउँथें। म पानी क्रेज़ी थिएँ । पँधेर गएर हराउने धेरै समय लगाउने भएकोले गाली पनि खान्थें त्यो बेला ।

त्यो दिन जब पानी लिएर घर फर्के । पधेंर गएकोले हात गोडा धुदा अलि अलि भिज्नु स्वभाविक थियो । घरमा आमा अगेनामा दुध बसाएर कतै जानु भएको रहेछ । दूध उम्लिरहेको थियो । ठेको खनाएर दुध पनि हालेँ । आमालाई बोलाएँ, आमा बारीतिरै हुनुहुदो रहेछ । खाना खाएर स्कुल जान भन्नु भयो । म खाना खाएँ । अनि ड्रेस लगाउन कोठामा गएँ । परिक्षा भएकोले कपी किताव लानु पर्दैन्थ्यो । किताब ठिक्क पार्न परेन।

ड्रेस चेन्ज गर्दा चिसो चिसो च्याप च्याप लागेको महसुस गरें । अनि नियालेर आफूलाई हेरें । मेरो महिनावारी भएको रहेछ । मेरो पहिलो महिनावारी । हात खुट्टा लगलग काँपे । म अलि अतालिएँ । अब के गर्ने भनेर? आमा पनि हुनुहुन्न । म मात्र छु । अलिबेर पर्खिम स्कुल जान ढिलो हुने, परिक्षा चलिरहेको छ त्यसमा पनि वार्षिक परिक्षा । सोचें यो पाप होईन म समालिनुपर्छ । म मेरा आमा वा दिदीहरू भन्दा पछिल्लो पुस्ता हुँ र सचेत पुस्ता पनि हुँ । मेरा दिदीहरूले स्कुलको ग्राउण्ड टेक्ने मौक़ा पाएनन । मैले पाएँ । मैले केही न केही ब्रेकथ्रु गर्नैपर्छ । आफूलाई समालेँ । दृढ़ बनाएँ । जे हुन्छ बेलुकी आएर हुन्छ । आमालाई म बेलुकी फर्केपछि भन्छु भन्ने निश्चय गरेँ । र मैले आफै एक्लै निर्णय गरें । आमाको पुरानो सुतीको साड़ी च्यातेर प्याड बनाएँ, र लगाएर स्कुल गएँ । सधै जस्तो सामन्य हिसावले नै परिक्षा दिएँ । मेरो अलि अलि ब्याक पेन भएको थियो । अलि थकाई पनि महसुस भएको थियो । आलश्य भाको थेँ ।

बेलुकी घर आएँ खाजा खाएँ तर आमालाई भन्ने मेसो मिलेन । एक मुठा घाँस काट्न खरबरीमा गएँ । घाँस लिएर आउँदा बुबा र ठूल्दाईसंग भेट भएको थियो हिउदे गोठमा तर केही बोलिन । गोठबाट बेलुकी अध्यारो पारेर घर फर्के । सुटुक्क आफ्नो कोठामा आएर बसेकी थिएँ । अध्यारो भएकोले आमाले खोजी गर्नु भयो । आमा मेरो कोठामा आउनु भयो अनि आमालाई सबै कुरा भन्ने मौका पाएँ । आमाले धेरै कुरा संझाउनु भयो ।

आमाको अनुहारमा एक प्रकारको खुसी झल्किन्थ्यो । किन की मेरो महिनावारी मेरा कक्षाका साथिहरू भन्दा अलि ढिलो भएको थियो । मेरा साथिहरू कक्षा चार देखि कक्षा सातसम्म पुग्दा सबै जसो पर सरिसकेका थिएँ अर्थात महिनावारी भईसकेका थिए । सायद आमा त्यही कारण पनि खुसी हुनु भएको हुनसक्छ । मलाई पनि मेरा साथिहरूको सबै कहानी थाहा थियो । र म परिपक्क पनि भईसकेकी थिएँ साथिहरूलाई देखेर र सुनेर ।

आमाले घरमा भन्नु भए होला बुबा र दाईलाई । सायद मेरो परिक्षा पनि चलिरहेकोले होला दिदीहरूको पालाको कठोर परम्परावादी मेरा बुबा आमा पनि परिवर्तन हुनु भयो । आमा आफै पनि महिनावारी बार्नुहुन्थ्यो । तर मैले ११ दिन लुक्ने, घरको धुरी, सुर्य र बुबा/दाजुभाई देख्न नहुने, परपुरूषलाई छुन नहुने, छोयो/देख्यो भने पाप हुने त्यो कठोर अन्धविश्वास तोड्न, नमान्न सफल भएँ ।

म बोलेर वा झगडा गरेर वा अटेरी गरेर होईन । संझाएर कन्भिन्स गरेर र परिस्थितिलाई देखाएर।
जाडो महिना थियो म आफ्नै बेडमा सिरक डसनामा सुतें । मलाई दूध खान हुदैन भन्नु भएन । म दूध पनि खाएँ घरमा नै बसेँ । बरू थप काम लगाउनु भएन बसेर पढ्ने मौका पाएँ । कमजोर स्वास्थ्य भएको बेला केयर पनि पाएँ ।
के छुन हुन्छ र के हुन्न भन्ने कुरा मेरो लागी गौण भयो । बरू ब्लिडिङ हुने, थकाई वा आलस्य हुने भएकोले आराम र सरसराई गर्ने मौक़ा मिल्यो ।

म प्रति कहिल्यै गुनासो गर्नु भएन मेरा अभिभावकले । त्यस पछिका दिनहरू झन सहज भएँ मेरा लागी । र, आज पर्यन्त म महिनावारी बार्दिन तर सरसफाई गर्छु । मेरो बिहेपछि, मेरो घरमा पनि यस्तै सजिलो वातावरण छ । कसैलाई छुई लाग्दैन यहाँ । तर सबै काम गर्नुपर्छ भन्ने पनि छैन । नगर्न पाईन्छ । पर सरेको बेला भान्सामा नगए पनि हुन्छ । गएर काम गरे पनि हुन्छ । आफ्नै खुसी ।
र,
महिनावारी पाप होईन । महिनावारी भएपछि नै हरेक महिला सृष्टिका लागि योग्य हुन्छन ।
महिनावारी नभैं कसरी बच्चा जन्मन्छ? विद्वान मित्रहरूले यसतर्फ आजसम्म बहस गरेको देख्दिन ।
कसले भनेको वा बनाएको रिती हो यो? पाप भन्ने । के हरेक मान्छे महिला/पुरूष हामी आफूलाई पापको परिणाम मान्न स्वीकार गर्न तयार छौं? स्वीकार गर्न सक्छौं ? सायद गर्दैनौ होला ?

त्यसैले महिनावारी,गर्भिणी र सुत्केरी अवस्था हरेक महिला/आमाहरूको लागि विशिष्ट र पबित्र अवस्था हो ।
प्रकृति वा समाजले गरेको बिभेद होईन, विशिष्टता र भिन्न अबस्था हो महिलाको ।
यसलाई यसरी सजिलो गरी हामी बुझाऔं ।

अनि महिनावारीमा महिलालाई छाउ गोठमा राख्नु र महिनावारीलाई बहिष्कार गर्नु सामाजिक अपराध हो । यो कानुनी रूपमा दण्डनीय छ । ति महाअपराधी हुन जसले महिनावारीलाई अपराध ठान्छन ।

तर यसो भनेर मात्र समस्या कहाँ समाधान हुन्छ र ? महिनावारीलाई बहिष्कार नगर्ने समाज बनाउने पनि त कर्तव्य तपाई हाम्रो हो ।

त्यसका लागि हामी सबै जागरूक र सचेत बनौँ । भत्काऔं बारीको कुनामा बनाएका छाउ गोठहरू । हटाऔं तपाई हाम्रो मनको कुनामा जिबित महिनावारी र छुवाछुतको अपराबोध गर्ने मन, हिनताबोध गर्ने भावना ।
अनि महिनावारीलाई बुझौं जैविक, प्राकृतिक विशिष्ट अबस्था भनेर ।

तब मात्र समाज शभ्य बन्न सक्छन । हाम्रा नानीहरू पाप र अपराधबोधको सिकार हुनबाट जोगिन्छन । हिनताबोधबाट मुक्त हुन्छन । एक योग्य महिला, सृष्टिदाता र सृष्टिका सुन्दर अंश बन्नसक्छन । हाम्रो समाजले सामाजिक दायित्व बोक्ने जिम्मेबार नागरीक ठान्नेछ ।

#राष्ट्रिय मर्यादित महिनावारी दिवशको सबैमा हार्दिक शुभकामना!

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here