‘क’बाट कमल, पानीमा फुल्ने
‘ख’बाट खरायो, बारीमा डुल्ने

चितवनको राप्ती नगरपालिका वडा नं ९ लालपुरको डिबी इँटा उद्योगको एउटा झुप्रोमा बुधबार बालबालिका स्वर मिलाउँदै कखरा गाउँदै थिए । सामुन्ने रहेको मोबाइलमा श्रव्यदृष्य हेर्दै लय मिलाउँथे । त्रिपालमा बसेका उनीहरु एउटै तालमा लय र तालमा लरक–लरक ज्यान मर्काउँथे । खैल्दै सिक्ने सिकाइअनुरुप उनीहरु कखरामा भाका हाली–हाली मच्चिन्थे ।।।

‘ग’बाट गमला, फूल रोप्न जाउँ
‘घ’बाट घर, हामी बस्ने ठाउँ

क देखि ज्ञ सम्म र अ, आ सबै श्रव्यदृष्यमै कैद गरिएको थियो । “भिडियो देखायो भने उनीहरुलाई सिक्न रहर जाग्छ, रमाइलो मान्दै सिक्छन्,” शिक्षक रुवी श्रेष्ठले भन्नुभयो – “अहिले उनीहरुलाई सबै कण्ठै भइसक्यो ।”

भित्ताभरि विभिन्न चित्रका पोष्टरहरु छन् । नेपाली, अंग्रेजीमा लेखेर चित्र प्रदर्शन गरिएको छ । घर पालुवा जनावर, अंग्रेजीमा फूलको नाम, असल बानी, जंगली जनावरका तस्वीरसहितका चित्रहरु छन् । उनीहरुलाई खेल्नका लागि दुई वटा पिङ पनि छन् । पढ्दा पढ्दै अल्छी लागेमा बालबालिका पिङ खेल्न जान्छन् । अनि फेरि लय मिलाउँदै भिडियो हेरेर पढ्न थाल्छन् यसरी।।।

‘ङ’बाट ङ्यार–ङ्यार, सुरी गर्छ साथी
‘च’बाट चरा, उड्छ माथि–माथि

यसरी उनीहरुलाई सिकाउने काममा सक्रिय हुन्छन्, अनिता वयलकोटी, सुनिता पुन, रुवी श्रेष्ठ र कमला सापकोटा । “यही हो उनीहरुलाई कखरा, एक दुई तीन चार, एबिसिडी सिकाउँछौँ”, अनिता वयलकोटीले भन्नुभयो । उनीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराइन्छ । घर बनाउने, बल खेल्ने गर्छन् बालबालिका ।

तीनदेखि सात वर्षका बालबालिका अहिले इँटा उद्योगभित्रै बनेको प्रारम्भिक बाल सिकाइ शिक्षा केन्द्रमा छन् । करीब आठ महिना उनीहरु यस्तै सिकाइमा रमाउँछन् । त्यसपछि सक्नेहरु विद्यालय जान्छन् । उनीहरु सबै इँटा उद्योगमा काम गर्ने मजदूरका छोराछोरी हुन् । उनीहरुलाई यसरी सिकाइमा सहभागी गराउने काम युथ क्लब नारायणगढले गरेको हो ।

उक्त क्लबको ‘बेटर ब्रिक नेपाल’ परियोजनाका संयोजक रामचन्द्र आचार्य भन्नुहुन्छ, “धुलो र माटोमा खेल्ने बालबालिका अहिले कलम कापीमा खेल्छन् । ‘कखरा’ सिक्न थालेका छन् ।”

दाङका निर्मला थापा र दिलबहादुर थापाको परिवार बालबच्चा बोकेर इँटा उद्योगका काम गर्न आउनुभएको छ । तीन वर्षका विशाल र सात वर्षका किसन छन् । सिकाइ केन्द्र नहुँदा उनीहरु धुलो र मैलोमा रमाउँथे । अहिले भने सिकाइ केन्द्रमा कखरा सिक्दै छन् । “एउटालाई स्कूलमा हाल्ने हो, अब अर्को यही सिकाइ केन्द्रमै सिक्छ,” निर्मलाले भन्नुभयो ।

उहाँहरुसँगै काम गर्ने पर्वतबाट आएका राजकुमार शाहीका छोराछोरी सकिरा र साहिल पनि अहिले पढ्दै र सिक्दै छन् ।

पहिले पहिले इँटा उद्योगमा बाल श्रम प्रयोग हुन्थ्यो । अझै पनि कतिपय उद्योगमा बाल श्रम प्रयोग हुँदै आएको छ । तर प्रारम्भिक बाल सिकाइ शिक्षा केन्द्र सञ्चालन भएपछि भने बालमजदूर हटेको बताउनुहुन्छ संयोजक आचार्य ।

युथ क्लबले जिल्लामा रहेका १८ वटा इँटा उद्योगमध्ये पाँच वटामा उक्त कार्यक्रम चलाएको छ जसमा करीब २०० बालबालिका प्रारम्भिक शिक्षा लिँदै छन् । ती इँटा उद्योगमा काम गर्ने ९९७ जना मजदूरका छोराछोरीमध्ये प्रारम्भिक शिक्षा सिक्नेबाहेक ९१ जना बालबालिका अहिले विद्यालयसमेत जान्छन् ।

मुख्यगरी यहाँको खनाल, गणेश, त्रिशूल, मनकामना र डिवी इँटा उद्योगमा सिकाइ केन्द्र सञ्चालित छ । “विसं २०७२ देखि हामीले कार्यक्रम चलाएका हौँ,” आचार्यले भन्नुभयो – “अहिले बालबालिका स्कूल जाने भए ।” उहाँका अनुसार नेपालको १४ जिल्लाका ४० वटा इँटा उद्योगमा यो कार्यक्रम चलेको छ । इँटा उद्योग आफैँले गर्नुपर्ने काम भएकाले उनीहरुलाई नै सहभागी गराएर कार्यक्रम चलाइएको छ । पछि कार्यक्रम नहराओस् भनेर सहभागी गराइएको हो ।

श्रम ऐनमा मजदूरलाई नियुक्ति दिएर काम लगाउनुपर्ने, दुव्र्यवहार गर्न नहुने, बालश्रम हुन नहुने, यौन शोषण हुन नहुने, काम गर्दा सावधानी अपनाउने कुरा उल्लेख छ । यो सबै कुरा उद्योग दर्ता गर्दा नै उल्लेख भएको हुन्छ । तर व्यवहारतः लागू नभएकाले त्यसलाई लागू गराउने प्रयास आफूहरुको रहेको आचार्य बताउनुहुन्छ ।

इँटा उद्योगका सञ्चालक कैलाश दाहाल अहिले विद्यालय पढाउनुपर्छ भन्ने मानसिकता सबैमा आइसकेको प्रतिक्रिया दिनुहुन्छ । आफ्नो उद्योगमा भने यस्तो समस्या नरहेको उहाँको दाबी छ । तर मजदूरको अस्थिरताका कारण बालबालिकाको प्रभावकारी सिकाइमा भने असर परिरहेको छ । रासस

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here