शितल दाहाल –भगवतीचरण बर्माको उपन्यास ‘चित्रलेखा’ मा एक प्रसंग आउँछ बहुप्रेमबारे । ‘पाटलीपुत्र’ (हालको पटना) सहरकी चित्रलेखा नामकी एक सुन्दरी जो पेसाले नर्तकी हुन्, आफूलाई अति प्रेम गर्ने सामन्त बीजगुप्तलाई त्यागेर एकै नजरमा लट्ठ पर्दै त्यसताका कहलिएका ध्यानी पुरुष कुमार गिरीसँग ‘प्रेम गर्न’ पुग्दा ती दुईबीच एउटा महत्वपूर्ण संवाद हुन्छ । संवादमा चित्रलेखाको तर्क छ-पुरुष दुई विवाह गर्न सक्छ । दुई जनासँग प्रेम गर्नसक्छ । अनि स्त्रीले त्यसो गर्न किन नसक्ने ? एउटी स्त्री आफ्नो पतिलाई त्यत्तिकै प्रेम गर्न सक्छिन् जति आफ्नो पुत्रलाई । आत्मिक सम्बन्ध धेरै व्यक्ति सँगसँगै गर्न सकिन्छ । उपन्यासले अन्ततः बीजगुप्त र चित्रलेखाको संयोगान्त मिलन देखाए पनि उल्लेखित पंक्तिले भने मलाई भित्रैदेखि छोयो ।
बहु प्रेमबारे मेरो आफ्नो धारणा त्यतिबेला स्पष्ट भयो जति बेलामा ओशो रजनिशको प्रेम, विवाह, समाज र अन्य ‘सामाजिक संस्था’ का बारेमा विचारोत्तेजक र विवादास्पद तर्क सुन्दै थिएँ । तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईं त्यस व्यक्तिलाई अरू कसैले मन पराउँदा किन बेखुसी हुनुहुन्छ ? बदलामा तपार्इं आफ्नो प्रेमीभन्दा खुसी हुनुपर्ने हो किनकि तपाईंको प्रेमीलाई अरू कसैले पनि प्रेम गर्दै छ, नभए के कसैलाई प्रेम गर्नु भनेको उसको शरीर र आत्मालाई नै कब्जा गर्नु हो र ? होइन भने कसैलाई कैद गरेर भोग्ने तपाईंको या मेरो चाहना कसरी प्रेम हुनसक्छ ? आफ्नो प्रेमीले बगैंचाका सुन्दर फूल हेर्‍यो भने तपाईंले के अनुभव गर्नु हुन्छ ? पक्कै पनि प्रेमी खुसी भएको अनुभव गर्नुहुन्छ । हो, जगतका सुन्दर वस्तु हेर्नमा तपाईंको प्रेमीका वा मेरो प्रेमी स्वतन्त्र छन् ।
सांसारिक वृत्तिमा रुमलिएका मान्छेले प्रेमका बारेमा दिएको विचार कति आधिकारिक हुनसक्ला त्यो बेग्लै चर्चाको विषय हो, तर बर्माको उपन्यास र ओशोको भनाइले प्रेमका बारेमा हामी र हाम्रा समाजमा हुने चर्चालाई चुनौती भने पक्कै दिन्छ । उसो त हाम्रो समाजमा अहिले बहुपत्नी प्रथा उन्मूलन भइसकेको छ तैपनि प्रेम, विवाह र शरीरजनित चाहना र आवश्यकताका सवालमा पुरुषलाई महिलालाई भन्दा धेरै छुट छ । प्रेम ‘वटा’ र ‘वटी’मा सीमित नहुने भए पनि पुरुषहरू सहजै आफ्ना ‘सर्कल’ मा गफ दिन्छन्-मेरा यति वटी छन् ।
हामी प्रेमलाई भोग, वासना र नियन्त्रणसँग जोडेर हेर्छाैं, अन्यथा प्रेम त हरसमय घटित हुन्छ । प्रेमको कुनै आकार, प्रकार र विषय हुँदैन । अनि प्रेम निश्चित व्यक्तिसँग मात्र हुन्छ भन्ने ग्यारेन्टी पनि त हुँदैन ।
उसो त पुरुषहरू मात्र होइन कतिपय ‘सुन्दरी स्त्रीहरू’ पनि आफ्ना सखीलाई यसै भनिररहेका भेटिन्छन् । सम्बन्धलाई शरीर र भोगबाट मात्र नभएर अन्य थुप्रै विषयसँग जोडेर हेर्नुपर्ने ठान्ने मलाई भने गजब लाग्छ- किन उनीहरू मेरा यतिजना हितैषी मित्र छन् भनेर साथीहरूसँग धाक लगाउँदैनन् । किनकि हामी प्रेमलाई भोग, वासना र नियन्त्रणसँग जोडेर हेर्छाैं, अन्यथा प्रेम त हरसमय घटित हुन्छ । र प्रेमको कुनै आकार, प्रकार र विषय हुँदैन । अनि प्रेम निश्चित व्यक्तिसँग मात्र हुन्छ भन्ने ग्यारेन्टी पनि त हुँदैन ।
प्रेमजस्तो विषय कुनै व्याख्या र वादभित्र अटाउँदैन । तैपनि मलाई प्रेमप्रति अति प्रेम छ । यसबारे यथेष्ट चर्चा गर्न मन लाग्छ । मेरो मन ठान्छ-निस्वार्थ भाव, निस्वार्थ लगाव, अकारण स्नेह, करुणा र त्यसप्रतिको लगानीलाई हामी सामान्यभावमा प्रेम बुझ्दछौं । कसैसँग बदलामा केही प्राप्तिको आशा नराखी गरिने सम्मान र त्यागको अवस्थालाई सम्भवतः प्रेम भनिन्छ र त्यस्तो प्रेम त हामी जतिजनालाई पनि गर्न सक्छौं । माथि हामीले प्रेममा केही कुराको अपेक्षा हुन्न भने पनि प्रेममा आनन्द भने पर्याप्त प्राप्त हुन्छ । आफ्नो बच्चालाई बोक्दा, दूध चुसाउँदा र उनीहरूको खुसीमा रम्दा तपाईंको आँखामा देखिने चमक ‘प्रेम’ हो । तपाईंले आफ्ना बाआमालाई तीर्थधाम पठाउँदा तपाईंमा आउने गद्गद् भाव पनि प्रेमकै द्योतक हो । ‘यस्तो प्रेम’ तपाईंले दर्जनौंजना सँगसमेत एकैपटक गर्न सक्नुहुन्छ । र यो प्रेमको कुनै वर्ग, समुदाय, र उमेरको हदबन्दी हुँदैन । न यो प्रेम कुनै लिंगले नै निर्धारण गर्छ ।
‘यस्तो प्रेम’ को चर्चा हुँदै गर्दा हामी ‘अर्को प्रेम’ बारे पनि सोच्न पुग्छौं किनकि प्रेमका प्रायः चर्चा यौवनकै सेरोफेरोमा हुने गर्छन् । यौवन, सुन्दरता, धन, प्रभुत्व आदिमध्ये कुनै एक कारणले नै हामी कसैलाई प्रेम गर्छौं । एउटा चरो हुन्छ ः तोपचरा । कतिले यसलाई कोटेरो पनि भन्छन् । यो प्रेमको भोको चरो हो । हामी मानवसँग चरा र अन्य जीवनले प्रकट गर्ने गहिराइ नाप्ने त्यस्तो कुनै चीज छैन । तैपनि तोप चराको लिला बुझेपछि यस्तो लाग्छ ः जति धेरै प्रेम, उति धेरै सिर्जना ।
यसको भाले चराले करिब तीन हप्ता लगाएर पराल र घुरानहरू मिसाएर अत्यन्त सुन्दर गुँड बनाउँछ । गुँड बनाउँदै गर्दा उ उसले बनाएको गुँड हुँदै उड्न चरीलाई आकर्षित गर्ने उसको ध्येय हुन्छ । पोथीले उसको गुँडमा आई त्यस गुँडको निरीक्षण गर्छे र उसलाई त्यसमा रुची भएमा उ भालेसँग बस्न मन्जुर हुन्छे । गुँडमा आएको पोथीसँगको मिलनपछि पोथी अण्डा पार्छे र ओथारो बस्छे ।
बाठो भालेले यसअघि नै अन्य एक दुई स्थानमा पनि यस्तै गुँड बनाउन थालेको हुन्छ र अन्य गुँडमा गएर समेत उ यही रित दोहोर्‍याउँछ, प्रेम सिर्जना कर्ममा निरन्तर तल्लिन रहन्छ । यस चराको प्रेमसम्बन्ध जस्तै मान्छेको विपरीत लिंगीबीच पनि यस्तै सम्बन्ध हुनुपर्छ भनेर म वकालत गर्दिन किनकि त्यस्ता बहुसम्बन्धले मान्छेमा मानसिक समस्या थोपर्छ । उसो त प्रेमबिनाको शारीरिक सम्बन्धको त म खुलेर विरोध गर्छु तर पुरुष हुन् या स्त्री, धेरैसँगको हार्दिक सम्बन्धलाई भने नकार्दिन । आखिर हामीले परिभाषित गरेको प्रेम लेनादेना, आनन्द र आदान-प्रदानसँग जोडिएकै छ ।
एउटै मात्र व्यक्तिसँग सम्पूर्ण गुण हुनु दुर्लभ छ तर हाम्रो खोजी प्रायः ‘सर्वगुणी प्रेमी-प्रेमिका’ को रहन्छ । रूप, बल, ज्ञान, विनोद र सबै विषयले सम्पन्न प्रेमी-प्रेमिका कसको खोजी नहोला ? तर एउटै व्यक्तिमा यी सब भेट्न प्रायः असम्भव भएकाले र सर्वगुणसम्पन्न आदर्श चरित्र भएका व्यक्ति र तिनका प्रेमगाथासम्बन्धी चलचित्र हेरेर हुर्किएको हाम्रो पुस्ताले बहुप्रेमी-प्रेमिका बनाउने सम्भावना रहन्छ । अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here