हङकङ — हङकङमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरुले बेलायती नागरिकता र पासपोर्टको माग गर्दै स्थानीय बेलायती कन्सुलेट जनरलमा धर्ना दिएका छन् । उनीहरु मध्ये अधिकांशले बेलायती नागरिकता लिइसके पनि पासपोर्ट पाउन सकेका छैनन् भने कतिपयका बाबुआमा बेलायती भएपनि छोराछोरीलाई नागरिकता दिइएको छैन । प्रदर्शनकारीले १५ दिने अल्टिमेटमसहित चार बुादे ज्ञापनपत्र पनि बुझाएका छन् ।

‘फाइट अगेन्स्ट ब्रिटिस गभर्मेन्ट्स डिस्क्रिमिनेसन एण्ड रेसिज्म अन सिटिजनसिप एण्ड पास्पोर्ट फर गोर्खाज फेमिलिज लिभिङ इन हङकङ’को आयोजनामा सम्पन्न कार्यक्रममा लगभग दुईसयजनाको सहभागिता रहेको थियो । प्लेकार्ड र व्यानरसहित उपस्थित उनीहरुले बेलायती सरकारको भेदभावपूर्ण व्यवहार र नीति विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

संयोजक भूषण सुब्बाले बेलायती सरकारको अत्याचारले पराकाष्ठ नाघेको कारण विरोध कार्यक्रमको आयोजना गर्नु परेको बताएका थिए । उनका अनुसार नागरिकता र पासपोर्टमा भएको ढिलाइले गर्दा सयौं नेपाली मूलका बेलायतीहरु स्टेटलेस ९राज्यविहीन० हुनुपरेको छ ।

उक्त अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संयोजक सुब्बाले बेलायती नागरिकताको लागि नेपाली नागरिकता परित्याग गरिसकेकाहरु अहिले स्टेटलेसको अवस्थामा रहेका छन् ।

उनका अनुसार त्यस किसिमका नेपाली मूलका बेलायतीहरुले नागरिकताको लागि आवेदन गरेको वर्षौं भइसकेको छ ।कार्यक्रममा उपस्थित नन्दमाया गुरुङले बेलायती नागरिकताका लागि दुई वर्षअघि नेपाली नागरिकता त्यागेको कारण आफू स्टेटलेस भएको बताएकी थिइन् ।

उनका अनुसार बेलायती नागरिकता आवेदनका लागि नेपाली नागरिकता त्याग्नै पर्ने प्रावधान रहेको छ । दुई वर्षमा पनि उनले बेलायती नागरिकता प्राप्त गर्न सकेकी छैनन् । आयोजक मध्येका डा. अनिल राईले बेलायती नागरिकता प्राप्त गरेर पासपोर्टको लागि आवेदन गरेको तीन वर्ष भन्दा बढी भइसकेको छ ।

हाल उनीसंग पासपोर्ट नभएको कारण हङकङ बाहिर जान सक्ने अवस्था रहेको छैन । सहभागी शिवकुमार क्षेत्रीले आफू बेलायती नागरिक भएको कारण दुई बच्चाले नागरिकता प्राप्त गरे पनि पासपोर्टको आवेदन गरेको दुई वर्षभन्दा बढी भइसकेको दुखेसो पोखेका थिए ।

तीन महिना बेलायत बसेर फर्केका गोपालसिं थापाले पासपोर्ट नवीकरणको लागि आवेदन गरेको आठ महिना बितिसकेको बताएका थिए, सामान्यतय नवीकरणको लागि दुई महिना लाग्ने गरेको छ । उनका बच्चाहरुको बेलायती नागरिकताको लागि आवेदन गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

यसभन्दा अघि नै हुलाक र इमेलमार्फत समेत ज्ञापनपत्र प्राप्त गरिसकेको बेलायती कन्सुलेट जनरलले प्रदर्शनको क्रममा एक पत्र संयोजक सुब्बालाई हस्तान्तरण गरेका थिए । उक्त पत्रमा पीडितहरुको गुनासो सम्बन्धित निकायमा पठाइसकिएको र पन्ध्र दिनभित्र समाधान गर्न अनुरोध गरिएको उल्लेख गरिएको छ ।

सोही पत्रसहित नत्थि गरिएको पासपोर्ट विभागका महानिर्देशक मार्क थम्सनद्वारा हस्ताक्षरित पत्रमा योग्यताको लागि सन्तुष्टि प्राप्त नभएसम्म पासपोर्ट जारी गर्न नसकिने र वैध आवेदनहरुमा ढिलाइ भएकोमा माफी मागिएको छ । सोही पत्रमा आवेदनहरुमा समीक्षा भइरहेको र १५ दिनभित्र जवाफ पठाइने उल्लेख गरिएको छ ।

विभागको पत्रमा दुई सय वर्षको गोर्खाको सेवाप्रति धन्यवाद ज्ञापन गर्दै केही आवेदकहरुले बेलायती नागरिकता र पासपोर्टको लागि झुठा विवरण पेश गरेको दाबी गरिएको छ । प्रक्रिया मिच्ने दुष्प्रयासको कारण भएको ढिलाईबाट पीडितहरु प्रति सहानुभूति प्रकट गरिएको छ ।

कार्यक्रमको समापन गर्दै संयोजक भूषण सुब्बाले तोकिएको समयभित्र माग पूरा नभए कडा कार्यक्रम तय गर्न बाध्य हुने बताएका थिए । उनका अनुसार उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्न र कानुनी प्रक्रिया अघि बढाउन तयारी शुरु गरिएको छ । यसै बीच गैरआवासीय नेपाली संघ हङकङले विज्ञप्तिमार्फत मागप्रति ऐक्यवद्धता जनाउँदै बेलायत सरकारको भेदभावपूर्ण नीति र व्यवहार खारेज गर्न माग गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here