दीपा आले
भर्खरै मात्र नेपाल र नेपाली जनताले नयां संविधान प्राप्त गरेको छ । त्यति मात्र होइन देशको बागडोर समालेका सत्ताधारीको छलफल अनुसार पहिलो, दोस्रो र तेस्रो चरणको चुनाव सम्पन्न भईसकेको छ । चुनाव सम्पन्न भए लगत्तै देशले नयां राजनैतिक मोड लिइसकेको छ जो संविधानसंग सबन्धीत छ । साथै जनताको आवश्यकता र चाहना पनि हो ।

केन्द्रीकृत शासन र सत्तालाई यति बेला विकेन्द्रीकृत गर्दै देशको कुना कुनामा पु¥याउने कामको अभ्यास भइरहेको छ । “आवाज विहिनहरुको आवाज” जसलाई संसारभर सूचना दिने काम सञ्चार जगतले गर्दछ । त्यो सूचना र सन्देश दिने काम पनि सञ्चार क्षेत्रले नै गरेको हो ।

यति बेला विश्व सामु सञ्चार क्षेत्रको पहुंच मात्र होइन डिमान्ड भइरहेको छ । जसले गर्दा राज्यदेखि पछाडि परेका आवाज विहिनहरुको अवाजको रुपमा सञ्चार क्षेत्रले विश्वसामु सनसनी मच्चाएको छ । सरकारदेखि लिएर निमुखा जनताको आवाज बन्न सफल भएको छ । त्यो उदाहरण हो ६५ वर्षपछि पाएको नयां संविधान जसलाई सफल बनाउन सञ्चार क्षेत्रको ठूलो भूमिका रहयो ।

जुन संविधानमा आम पत्रकारले पूर्ण स्वतन्त्रताको अधिकार प्राप्ती गरेको लिखित दस्तावेज हाम्रो सामु छ ।भनिन्छ – “जन्मदिने बाबुआमाले त सन्तानका सबै इच्छा चाहना पुरा गर्न सक्दैनन भने उनैका सन्तानले कहां बाट सबै सपना पुरा गर्न सक्छन् । न त राज्यनै पुरा गर्न सक्छ ।

तर केही सपनाहरु भने पक्कै पुरा हुने गर्छ । यस्तो अवस्थाबाट गु्रजीएको समाजका हामी नेपाली जनता जसले धेरै कुरा सिक्दै, भोग्दै अनुभव बटुलेका छौं । जसलाई बाह्य संसारमा ल्याउने काम तिनै सञ्चारजगतले गर्दै आएको छ । वर्षौ देखि विभेदमा पारीका समुदाय, वर्ग र क्षेत्रलाई सकरात्मक ढंगले परिवर्तन गर्न सहयोग गरेको छ ।

नयां संविधान २०७२ ले सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई समेटेको छ ।

त्यति मात्र नभई वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा जोड दिएको छ ।

त्यति मात्र नभई सबै समुदायका धर्म, संस्कृति, भाषालाई सम्मान अधिकार दिर्दै पछि परेका समुदायलाई उत्थान गर्न विभिन्न जातीय आयोग समेत निर्माण हुने अधिकार समेत संविधानमा उल्लेख गरिएको छ ।

लामो समयपछि नेपाली जनताले आफ्नो लागि आफैँ संविधान लेखिएको यो पहिलो संविधान हो । जसले गर्दा समाजमा पछि परेका अवाज विहिनहरुको आवाज राज्यको हरेक निकायमा पुग्नेछ । देश र जनताको विकासकोलागि केन्द्रीकृत शासन र सत्तालाई विकेन्द्रीकृत गर्दै संघीय प्रदेश बनेको छ । जुन संघीय प्रदेशले नेपाली जनताको भाग्य र भविष्य कोर्नेमा दुईमत छैन ।

नेपालमा नयां संविधानको जन्म भए लगत्तै देशले नयां निकास पाउंनेछ राज्यदेखि पछाडि परेका समुदाय मध्ये आदिबासी जनजातिहरुको आवाजलाई राज्यले सम्बोधन गरेको छ । पक्कै पनि अब आउने दिनहरुमा आदिबासी जनजाति समुदायका पत्रकारहरु भौतिक सुरक्षा, आर्थिक सुरक्षा लगायत पत्रकारले पाउने सम्पूर्ण सुविधा र अवसर पाउनबाट राज्यले विमुख गर्ने छैन भन्ने हाम्रो विश्वास हो ।

आदिबासी जनजाति पत्रकारहरु भित्र पर्ने पत्रकार महिलाहरु पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा अघि बढ्दैछन् । जसलाई संरक्षण र संबद्धन गर्नकोलागि नेपाल आदिबासी जनजाति पत्रकार महासंघले ठूलो योगदान छ । त्यति मात्र होइन समग्र श्रमजिवि पत्रकारको व्यवसायिक तथा भौतिक सुरक्षाकोलागि नेपाल पत्रकार महासंघको पनि ठूलो भूमिका छ ।

विशेष गरी पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा टिकाई राख्नकोलागि सञ्चारिका समूह, क्रियाशील पत्रकार महिला लगायतका संघसंस्थाहरुलेपनि केही न केही टेवा पुराएका छन् । त्यतिले मात्र नभएर अझ पत्रकारितालाई सबै जाती, समुदाय र क्षेत्रमा पुराउनकोलागि दिनदिनै जातीय उत्थान र जनचेतना दिनेकोलागि जातीय पत्रकार संघहरु खुल्ने क्रम जारी छ । जसले गर्दा राज्यले पनि सञ्चार क्षेत्रलाई व्यवसायीक तवरले विकास गर्न लागि परेको छ ।

पछिल्लो समय २०६२-६३को जनआन्दोलन पछि राज्यको हरेक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको रुपमा अवसर दिएको वर्तमान अवस्था हो । जसले गर्दा सञ्चारजगतमा आदिबासी जनजाति पत्रकार महिलाहरुको पहुंच पनि बढ्दै गएको छ । कति पनि नहुनु भन्दा केही हुनु भने झै सञ्चार क्षेत्रमा जनजाति पत्रकार महिलाको पहुंच बढ्दो क्रममा रहेको छ ।

अझ आदिबासी जनजाति भित्र पर्ने विभिन्न जातीहरुले आ आफ्ना सञ्चार संघहरु खोलेर पत्रकारिता क्षेत्रलाई अघि बढाउन महन्वपूर्ण कार्य गर्दै आएको छ ।यसरी सरसर्ती देशब्यापी रुपमा समग्र पत्रकारको संख्या कस्तो छ ? त्यस भित्र आदिबासी जनजाति पत्रकारको संख्या कस्तो छ ? अझ गहिरिएर हेर्नु पर्दा जनजाति पत्रकार महिलाको संख्या र पत्रकारिता पेशाको अवस्था कस्तो छ त भन्ने जिज्ञसा लाग्नु स्वाभाविक हो ।

त्यसैले नेपाल पत्रकार महासंघ, आदिबासी जनजाति पत्रकार महासंघको तथ्यांङकलाई हेर्न सक्छौं । पत्रकार महासंघको तथ्यांङक हेर्दा देशभरमा ९ हजार ८ सय ५५ मध्ये पत्रकार महिलाको संख्या १ हजार ३ सय ८७ रहेको छ । यसमा जनजाति महिलाको २ सय ७७ जना घटाउंदा गैरआदिबासी जनजाति पत्रकार महिलाको संख्या १ हजार १ सय १० रहेको देखिन्छ । अर्थात देशभरका कुल पत्रकारमध्ये १४ दशमलब ०७ प्रतिशत महिलाको संख्या छ ।

कुल महिलाको संख्यालाई शतप्रतिशत मान्दा आदिबासी जनजाति महिलाको हिस्सा २४ दशलमलब ९५ प्रतिशत देखिन्छ । त्यसैगरी आदिबासी जनजाति पत्रकार महासंघको तथ्यांङक हेर्दा भने देशभर कुल पत्रकार संख्या १५ सय ३९ पाइएको वर्तमान अवस्था हो । नेपालमा पत्रकार महासंघको तथ्यांङक भने देशभर कुल ९ हजार ८ सय ५५ पत्रकार छन् । जसमा आदिबासी जनजाति पत्रकारहरुको संख्या १६८६ रहेको छ ।

प्रतिशतमा १७.१० रहेको छ । जनजाति पत्रकारको कुल संख्यामध्ये नेवारको मात्र ३९.१४ प्रतिशत रहेको छ । बांकी संख्यामा जनजाति भित्रको सुविधाबञ्चित समूहमा रहेका मगर, गुरुङ, राई, लिम्बु, तामाङको प्रतिनिधित्व ठूलो छ । अझ सिमान्तीकृत र अति सिमान्तीकृत समूहका पर्ने आदिबासी जनजाति समुदायको संख्या भने औंलामा गन्न सकिने देखिन्छ । पत्रकार महिलाको संख्या झनै छैन नै भन्नु पर्छ ।

सोच्नुस् हिजोका ति दिनहरु कसरी हामीले काम गरेका थियौ प्रत्येक पाईलामा पसिना र समय मात्र होइन रगत बगाएका छौं । जो मानिस संघर्ष गर्न देखि भाग्छ उसले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन । हरेक चुनौतिमा हजारौं अवसर लुकेको हुन्छ । हरेक समस्यामा लाखौं समाधानहरु दविएका छन् । जसलाई पाउन संघर्ष, निरन्तरता र धर्यताको खांचो छ ।

आफू भित्रको आत्मबललाई कमजोर होइन बलियो बनाउंदै हरेक अवसरलाई लिन सक्नु पर्छ । विशेष गरी केन्द्रदेखि मोफसलमा क्रियाशील पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा टिकिइराख्ने वातावरणको संरचना राज्यले तत्काल बनाउनु पर्छ ।

अर्को तिर आफूलाई पत्रकार महिलाबादी भनेर चिनाउन चाहाने हांतीले देखाउने दांत जस्ताले विचारबाद, नाताबाद र क्रिपाबादलाई त्यागी सबै तह र तप्काका महिलाहरुलाई समेट्दै उनीहरुको आर्थिक, भौतिक, नैतिक, क्षमता, दक्षता र अवसरमा न्याय गर्नुस् ताकि भोलि तपाईहरुलाई उनीहरुको कामले गर्वको महसुस हुनेछ ।

भनिन्छ परिवारमा एउटा महिला शिक्षित भयो भने उसले आफ्नो सबै परिवारलाई शिक्षित बनाउछ यो कुरालाई सधैं मनन गरौं । त्यसैले सबै वर्ग क्षेत्र र समुदायबाट आएका पत्रकार महिलाहरुमा समान सहभागीता, समावेशी र समानुपातिक ढंगले उनीहरुको दिर्घकालिन भविष्यलाई पत्रकारिता क्षेत्रमा ग्यारेन्टी गरौं । होइन भने भएका थोरै श्रमजिवि पत्रकार महिलाहरु पनि भोको पेट लिएर काम गर्न सक्दैनन् ।

अनि कहांबाट हुन्छ पुरुष र महिलाको समान सहभागीता आफै सोच्नुस् । मुस्कान सहित श्रमजिवि पत्रकारकोलागि दिएको भाषणलाई अलिकति भएपनि व्यवहारमा लागु गर्न सके पक्कै पत्रकारिता क्षेत्रबाट पत्रकार महिला मात्र होइन पुरुष पत्रकारहरु पनि सधैंकालागि टिकिराख्न सक्नेछन् । त्यसकारण यस्ता गम्भीर र चूनौतिपूर्ण विषयमा सम्बन्धीत निकायको ध्यान जान जरुरी छ । स्यम पत्रकार महिलाहरु पनि आफ्नो पेशा प्रति निरन्तर लागि राख्नुपर्छ । आफ्ना माग र मुद्धालाई केन्द्रीत गर्दै राज्यलाई खबरदारी गर्न पछि पर्नु हुंदैन ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here