बैतडी – सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक सत्र २०७५ देखि केही विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं ३, श्रीकोटमा रहेका दुई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । खोचलेकमा रहेको सनातन धर्म मावि र खिरेगाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

सनातन धर्म मावि, खोचलेकमा कक्षा १ देखि ३ सम्म र केदारनाथ आधारभूत विद्यालयमा बालविकास र कक्षा १ मा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । आधुनिक युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषाको पठनपाठन शुरु गरिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । समयानुकूल शिक्षा प्रदान गर्नका लागि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको उहाँले बताउनुभयो ।

यस्तै, गत शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या न्यून भएको केदारनाथ आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन गरेको प्रधानाध्यापक शंकरराम ओडले जानकारी दिनुभयो । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पढाइ गर्दा विद्यार्थी संख्या बढ्ने उहाँको भनाइ रहेको छ ।
सनातन धर्म मावि विसं २०१७ मा स्थापना भएको हो भने केदारनाथ आधारभूत विद्यालय विसं २०४३ मा स्थापना गरिएको हो । पछिल्लो समय देखासिकीको आधारमा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो र बसाइँ सरेर तराई जानेक्रम बढी भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन् ।

बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर विद्यार्थीको संख्या घट्दै गएको छ । सरकारले अर्बौं रुपैयाँ लगानी तथा खर्च गरेर सामुदायिक विद्यालय सञ्चालन गरिरहे पनि स्तर घट्दै गएकाले पढाइको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको जानकारको भनाइ रहेको छ ।

सामुदायिक विद्यालयको स्तर खस्किँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयमा आकर्षित हुन थालेको छ । पढाइ पनि गुणस्तरीय हुने भन्दै अभिभावकको रोजाइ निजी विद्यालयमा जान थालेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here